प्राच्यजगत्को विशाल–ज्ञानधारा

 

शब्दरचनाको दृष्टिकोणबाट विचार गर्दा वेद शब्द ज्ञानार्थक विद् धातुदेखि घञ् प्रत्यय लागेर बन्दछ । शाब्दिक रूपमा वेद शब्दको अर्थ ज्ञान हो । तर वैदिक वाङ्मयलाई सम्बोधन गर्ने वेदशब्दको अर्थ मन्त्रद्रष्टा तपस्वी महर्षिहरूको अन्तःकरणमा स्वतपोबलद्वारा साक्षात्कार गरिएको मन्त्रब्राह्मणात्मक शब्दराशि भन्ने हुन्छ । अथवा मन्त्र र ब्राह्मणमा विभक्त शब्दराश्यात्मक समष्टि स्वरूप नै वेद शब्दको अभिधेय अर्थ हो । मन्त्रब्राह्मणयोर्वेदनामधेयम्” भनेर कात्यायनले मन्त्रब्राह्मणात्मक शब्दराशिलाई वेदसंज्ञा दिएका छन् । त्यसैले वेद शब्दलाई योगरूढ मानिएको छ । वेद अनादि अपौरुषेय र नित्य वाङ्मय हो । वेदको प्रामाणिकतालाई सिद्ध गर्न अरु कुनै पनि प्रमाणको आवश्यकता पर्दैन । दर्शनको धारामा पनि वेदलाई प्रमाण मान्ने दर्शनहरूलाई आस्तिक र वेदलाई प्रमाण नमान्ने दर्शनहरूलाई नास्तिक कोटिमा राखिएको पाइन्छ । महर्षि पतञ्जलिको मतानुसार ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभक्त वेदराशिको शाखाहरू १,१३१ रूपमा फैलिएका छन्। जस अनुसार ऋग्वेदको २१ शखा, यजुर्वेदको १०१ शाखा (कृष्ण–८६, शुक्ल–१५), सामवेदको १००० शाखा र अथर्ववेदको ९ शाखा रहेका छन् । सम्प्रति भने उपर्युक्त शाखाहरूमध्ये अत्यन्त थोरै शाखाहरू अध्ययन अध्यापनको परम्परामा सुरक्षित छन् । वैदिक वाङ्मयलाई विचार गर्ने दृष्टिकोण विभिन्न रहेको पाइन्छ । कसैले याज्ञिक परम्परा अन्तर्गत रहेर यज्ञीय दृष्टिकोण अनुसार वेदलाई ऋत्विक्गण (होता, अध्वर्यु, उद्गाता र ब्रह्मा) सँग सम्बद्ध बनाई विश्लेषण गर्दछन् भने कसैले प्रायोगिक दृष्टिकोअवलम्बन गरी मन्त्रभाग र ब्राह्मणभागको रूपमा विश्लेषण गर्दछन्। जे होस्मन्त्र र ब्राह्मणको संयुक्त स्वरूप नै वेद हो । हाम्रो सनातनी नेपाली समाज र परम्परामा शुक्लयजुर्वेदको माध्यन्दिनीय शाखाको अध्ययन अध्यापन हुनुका साथै सोही वेदसँग सम्बद्ध श्रौतसूत्र र गृह्यसूत्रका आधारमा संस्कार एवं धार्मिक क्रियाकलापहरू सम्पन्न हुन्छन्।

वेदाध्ययन गर्ने क्रममा गुरुमुखबाट श्रवण गरेपछि मात्र अध्ययन गर्ने परम्परा रही आएको छ । गुरुमुखबाट श्रवण नगरीकन गरिएको वेदाध्ययनलाई वेदाध्ययन नै मानिँदैन । गुरुको मुखबाट सुनेर मात्र अभ्यास गरिने भएका कारण वेदलाई ‘श्रुति’ शब्दद्वारा पनि सम्बोधन गर्ने परम्परा प्राचीन कालदेखि रही आएको छ । श्रुति शब्द श्रवणार्थक श्रु धातुबाट भाव अथवा कर्ममा क्तिन् प्रत्यय मिलेर निष्पन्न हुन्छ । अतः श्रवणं श्रुतिः” अथवा श्रूयते इति श्रुतिः” यो पनि श्रुति शब्दको अर्थ हुन जान्छ । श्रुति भनेको वेद हो । सनातन संस्कृतिमा श्रुतिलाई अनादि र अपौरुषेय मानिन्छ । नयाँ कल्पको आरम्भमा अथवा प्रलयपछिको सृष्टिमा ईश्वरको निःश्वासरूप वेदको प्रादुर्भाव हुन्छ । अरे वा अस्य महतो भूतस्य निश्वसितमेतद् यद् ऋग्वेदो यजुर्वेदः सामवेदोऽथर्वाङ्गिरसः ।” भन्ने श्रुतिको आधारमा परमात्माको निःश्वासरूपनै वेद हो भन्ने प्रष्ट हुन्छ। यसको तात्पर्यलाई यसरी पनि भन्न सकिन्छ– शरीरमा दुई प्रकारका क्रिया हुन्छन् । एउटा इच्छाज्ञानपूर्वक गरिन्छ । जस्तैः– हातखुट्टाले गरिने क्रिया । दोस्रो इच्छा र ज्ञान विना स्वतः भईरहन्छ । जस्तैः– श्वासप्रश्वासको क्रिया । मुनष्यहरू आफ्नो इच्छा अनुसार श्वासप्रश्वासप्रक्रिया सञ्चालन गर्न समर्थ छैनन् । यो प्रक्रिया स्वतः निरन्तर चलि– रहन्छ । त्यस्तै वेदलाई परमात्माले पनि इच्छा र श्रम गरेर बनाएको नभई निःश्वासरूपमा स्वतः प्रादुर्भाव भएको हो । वेदद्वारा नै परमात्माको ज्ञान गर्न सकिन्छ । जस्तै जीवीत प्राणीको ज्ञान श्वासप्रश्वासबाट जान्न सकिए झैँ परमात्माको ज्ञान पनि उनैको निःश्वासरूप वेदद्वारा नै गर्न सकिन्छ । परमात्माको यथार्थता वेदज्ञान बाहेक अरुबाट थाहा हुँदैन । अतः श्रुति अनादि र अपौरुषेय हो । किनभने वेद पुरुष–प्रयत्न साध्य होइन । वेदोक्त अर्थको ज्ञान पनि वेदातिरिक्त प्रमाणान्तरबाट जान्न सकिँदैन । परमात्माको अनुग्रह र पे्ररणाबाट ऋषिहरूको अन्तःकरणमा प्रादुर्भूत वेदलाई ईश्वरनिर्मित मान्नु पनि युक्तिसंगत होइन । अन्तःकरणमा प्रस्फुरित वेदज्ञानलाई ऋषिहरूले आनुपूर्वी शब्दको माध्यमले अभिव्यक्त गरी शिष्यहरूलाई सुनाएर नै संरक्षण गर्ने परम्परा बसाले । गुरुद्वारा जुन शब्द अक्षर वा वर्ण जुन स्वरमा उच्चारण गरिन्छ शिष्यले पनि त्यो शब्द, अक्षर वा वर्णलाई त्यही रूपमा उच्चारण गर्ने र त्यसलाई स्वाध्यायको माध्यमले संरक्षण गर्ने भएको हुनाले वेदलाई श्रुति भन्ने गरिएको हो । श्रुतिको अर्को विशेषता के हो भने, यसमा नियत शब्दको क्रम रहन्छ । अथवा वेदको शब्दमा आनुपूर्वीको नियम हुन्छ । कुनै पनि शब्द वा वर्णलाई परिवर्तन गरी उच्चारण गर्न पाइँदैन । यदि यस्तो उच्चारण गरेमा भलै अर्थमा फरक नपरे पनि यसले श्रुतिमा हानि पु¥याउँछ । शब्दको प्रधानता भएकै कारण श्रुतिको उपदेश गर्नलाई पात्रता, अधिकारी, देश, काल आदिको विचार गर्ने शास्त्रपरम्परा रहेको देखिन्छ । कुनै पनि व्यक्तिलाई कुनै पनि अवस्थामा श्रुतिको उपदेश दिने आज्ञा शास्त्रले दिएको छैन । श्रुति शब्दले मन्त्र र ब्राह्मणको संयुक्त रूपलाई नै बझाउँछ । श्रुति शब्दको आशयलाई मनुस्मृतिमा यसरी व्यक्त गरिएको छः– श्रुतिस्तु वेदो विज्ञेयो धर्मशास्त्रं तु वै स्मृतिः ।”(२.१०) । अर्थात्श्रुतिशब्दद्वारा वेदको ग्रहण हुन्छ भने स्मृति शब्दद्वारा धर्मशास्त्रको ग्रहण हुन्छ । “धर्मं जिज्ञासमानानां प्रमाणं परमं श्रुतिः” । अर्थात् धर्मको आधिकारिक ज्ञान दिने प्रमाणिक शास्त्रनै श्रुति हो ।

आचार्य जैमिनिले श्रुतिलिङ्गवाक्यप्रकरणस्थानसमाख्यानां समवाये पारदौर्बल्यम् अर्थविप्रकर्षात्”(३.३.१४) यस सूत्रमा श्रुति प्रमाणलाई बलशाली प्रमाण मानेका छन् । मीमांसकहरू यसको उदाहरणमा ऐन्द्र्या गार्हपत्यमुपतिष्ठते” वाक्यलाई प्रस्तुत गर्दछन् कदाचनस्तरी…….. भन्ने मन्त्र गार्हपत्योपस्थानको अंग हुनुमा ऐन्द्र्या यो तृतीया श्रुति प्रमाण हो । गरुपरम्पराबाट साक्षात्सुनेर कण्ठस्थ गरी शब्दतः यथार्थ संरक्षण गरेको हुनाले अहिले पनि वेद एकरूपमा पढिन्छ । वैदिकहरूले आफ्नो जीवन नै वेदसंरक्षण गर्न समर्पण गरेका छन् । गुरुमुखोच्चारणानूच्चारणपूर्वक नगरिएको वेदाध्ययनलाई आधिकारिक वेदाध्ययन मानिँदैन । श्रुति र स्मृतिको विरोध भएको विषयमा श्रुतिप्रमाणलाई बलशाली प्रमाण मान्ने सिद्धान्त छ। श्रुतिमूलकत्वेन स्मृति पनि प्रामाणिक शास्त्र हो । तर श्रुति र स्मृति दुवैको विवाद उत्पन्न भयो भने त्यो विषयमा श्रुतिप्रमाण नै अकाट्य हुन्छ । श्रुतिस्मृत्योर्विरोधे तु श्रुतिर्वलीयसि निरपेक्षत्वात्” तपस्यामा लीन महर्षिहरूको अन्तःकरणमा जुन ध्वनि श्वतः प्रादुर्भाव भयो र जुन ध्वनिलाई उनीहरूले स्वयं सुने, कसैको उपदेश वा कथनद्वारा ज्ञात भएको होइन त्यो विषयको प्रतिपादक वाक्यनै श्रुति हो ।

वेदका छ अङ्गहरू छन् । जसको अध्ययन बिना यथार्थ रूपमा वैदिक वाङ्मयको अवगाहन हुन सक्दैन । वेदको अर्थ जान्न सजिलो होस् भन्नका लागि विभिन्न महर्षिहरूले वेदाङ्गको रचना गरेका छन्। जसलाई शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष भनेर जानिन्छ । यी शास्त्रहरू पनि प्रामाणिक शास्त्र हुन्।

३.शिक्षा :– मुख्य रूपमा वेदको शुद्ध उच्चारण गर्न सिकाउने शास्त्रलाई नै शिक्षाशास्त्र भनिन्छ । यी ग्रन्थहरूमा स्वर, अक्षर, मात्रा आदि विषयको उच्चारण गर्ने तरिकाका सम्बन्धमा विवेचना पाइन्छ ।

३.कल्प :– कल्पसूत्रमा विभिन्न यज्ञहरूको वर्णन पाइन्छ । अग्न्याधान देखि लिएर ज्योतिष्टोमादि गरिएका यज्ञहरूको यथार्थ प्रयोग विवरण पनि यिनै ग्रन्थहरूमा पाइन्छ । कल्पसूत्र भन्नाले श्रौतसूत्र, गृह्यसूत्र, धर्मसूत्र र शुल्वसूत्रहरूलाई लिइन्छ । वेदका विभन्न शाखाका आ–आफ्ना कल्पग्रन्थहरू हुन्छन् । यी सूत्रहरूसँग सम्बन्धित विभिन्न परिशिष्टग्रन्थहरू र अनुष्ठानकल्पहरू समेत पाइन्छ ।

३.व्याकरण:– पद र प्रकृतिको कल्पना गरी यथार्थ रूपमा शब्दको स्वरूप र अर्थ बुझाउने ग्रन्थलाई व्याकरण भनिन्छ । यसको काम भाषालाई नियमबद्ध बनाउनु पनि हो । अहिले प्राप्त व्याकरण ग्रन्थहरू मध्ये अतिवैज्ञानिक व्याकरणका रूपमा पाणिनीय व्याकरणलाई लिइन्छ । पाणिनि भन्दा पूर्व पनि धेरै वैयाकरण र व्याकरण ग्रन्थहरू थिए । कतिपय आचार्यहरूको उल्लेख पाणिनि स्वयंले आफ्नो अष्टाध्यायी ग्रन्थमा गरेका छन्। पाणिनीय व्याकरणमा कात्यायनको वार्तिक र पतञ्जलिको महाभाष्यले पूर्णता दिने काम गरेका छन् । पाणिनीय व्याकरणले वेदका समग्र विषयलाई नसमेटे पनि कतिपय विषयहरूलाई भने निर्देशन गरेको छ ।

३.निरुक्त:– वेदका विभिन्न शब्दहरूको निर्वचन गर्ने शास्त्रलाई निरुक्त शास्त्र भनिन्छ । व्याकरणले व्युत्पत्ति देखाउन नसकेका कतिपय शब्दहरूको व्युत्पत्ति पनि निरुक्तले गरेको छ । बाह्र भन्दा बढी निरुक्तकारहरूको नाम सुनिए ता पनि उनीहरूद्वारा प्रणीत निरुक्तशास्त्र उपलब्ध छैन । वर्तमान समयमा निघण्टुमा संग्रहीत शब्दहरू व्याख्या भएको यास्कद्वारा प्रणीत परिशिष्ट सहित चौध अध्याय भएको निरुक्त ग्रन्थ उपलब्ध छ । यही निरुक्त ग्रन्थलाई वेदाङ्गको रूपमा मानिएको छ। यो निरुक्त ग्रन्थले वेदको विभिन्न व्याख्या पद्धतिको निर्देश गरेको छ । भाषा विज्ञानको क्षेत्रमा निरुक्त शास्त्रको अतुलनीय योगदान रहेको छ । निर्वचन प्रक्रियाको प्राचीन ग्रन्थ पनि यसैलाई मानिन्छ । यस ग्रन्थलाई नैघण्टुक काण्ड, नैगम काण्ड र दैवत काण्ड गरी तीन काण्डमा विभाजन गर्ने चलन रहि आएको छ ।

३.छन्द:– गलाबाट उच्चारण हुने स्वरलहरीलाई छन्द भनिन्छ । छन्द बिना कुनै पनि वर्ण उच्चारण हुन सक्दैन । त्यसकारण वेदका मन्त्रहरू पनि विभिन्न छन्दमा बाँधिएका छन् । वेदका मन्त्रहरूमा प्रयोग भएका छन्दहरूलाई विभिन्न महर्षिहरूले आफ्नो लक्षण ग्रन्थहरूद्वारा विवेचना गर्ने प्रयत्न गरेका छन् । वेदमा प्रयोग भएका गायत्री, उष्णिक, अनुष्टुब्, बृहती, पंक्ति आदि छन्दहरूको लक्षण बताउने ग्रन्थलाई छन्दश्शास्त्र भनिन्छ । वैदिक छन्दका निर्देशक ग्रन्थहरूमा उपनिदानसूत्र, पिंगलनागप्रोक्तछन्दःसूत्र, छन्दोऽनुक्रमणी आदि ग्रन्थहरू प्राप्त छन्।

३.ज्योतिष:– सूर्य र चन्द्रमाको गति बताउने, नक्षत्र, तिथि, पक्ष, ऋतु, अयन आदिको निरूपण गर्ने शास्त्रलाई ज्योतिष शास्त्र भनिन्छ । ज्योतिष शास्त्र अत्यन्त व्यापक रूपमा पैmलिएको छ । विशेषतः यज्ञको मुहुर्तादि निरूपण गर्ने भएको हुनाले वेदसँग यसको घनिष्ठ सम्बन्ध रहेको छ । लगधमुनि प्रोक्त वेदाङ्ग ज्योतिष उपलब्ध छ ।

मुख्यतया चार नामले प्रख्यात चार वेदका उपवेदहरू आयुर्वेद, अर्थवेद, धनुर्वेद र गान्धर्ववेद गरी चारओटा नै प्रसिद्ध छन् । अध्ययन अध्यापन परम्परामा र सामाजिक परिवेशमा आयुर्वेदको बढी प्रचार भए पनि अन्य वेदहरूको महŒव पनि कम छैन ।

४.अर्थवेद:– यो वेद ऋग्वेदको उपवेदका रूपमा प्रसिद्ध छ । अर्थवेद भनेको अर्थशास्त्र हो । यस अन्तर्गत कौटिल्यको अर्थशास्त्र, शुक्रनीति, कामन्दकीयनीतिसार, पञ्चतन्त्र, हितोपदेश, चाँणक्यनीतिदर्पण इत्यादि ग्रन्थ पर्दछन्।

४.धनुर्वेद:– यो वेद यजुर्वेदको उपवेद हो । धनुर्वेदमा अस्त्र शस्त्रको निर्माण तथा प्रयोगको वर्णन गरिएको छ । यो प्रयोगात्मक शास्त्र हो । आधुनिक हातहतियार तथा आणविक हातहतियारको विकासमा धनुर्वेदको महत्वपूर्ण भूमिका थियो भन्ने कुरा विभिन्न खोज अनुसन्धानले प्रमाणित गरिरहेका छन् । यो शास्त्रलाई आधार मानेर प्रयोग गर्ने परम्परा लोप भएको हुनाले यो शास्त्रको चर्चा त्यति पाइँदैन ।

४.गान्धर्ववेद:– गान्धर्ववेदलाई सामवेदको उपवेद मानिन्छ । गान्धर्ववेदमा गायन तथा नृत्यको विषय उल्लेख गरिएको छ । राग– रागिनी, ताल–स्वर, वाद्य तथा नृत्यको भेद उपभेदको वर्णन यसमा गरिएको छ । भरतमुनिविरचित नाट्यशास्त्र पनि यसैमा आधारित छ । ‘सा रे ग म प ध नि’ यी स्वरहरूको उद्गम पनि गान्धर्ववेदबाट भएको हो ।

४.आयुर्वेद:– आयुर्वेद अथर्ववेदको उपवेद हो । आयुर्वेदमा शरीर रचना, रोगको कारण, लक्षण, औषधि, विधान तथा चिकित्साको वर्णन गरिएको छ । आयुर्वेदका ग्रन्थहरूमा अश्विनीकुमारसंहिता, ब्रह्मसंहिता, भेलसंहिता एवं आग्निध्रसूत्रराज प्राचीन ग्रन्थहरू हन्।

धर्मशास्त्रं तु वै स्मृतिः स्मृति भन्नाले वेदका विभिन्न शाखामा रहेका विषयवस्तुलाई समय समयमा ऋषिहरूले स्मरण गर्दै आफ्नै भाषा र शैलीमा रचिएका नीति, नियम, आचार, व्यवहार आदि सिकाउने ग्रन्थहरू हुन् । वेदमूलकत्वेन यी स्मृतिहरू पनि प्रामाणिक मानिन्छन् । यिनीहरूको प्रकृति आ–आफ्नै खालको हुन्छ भने विभिन्न कोटिमा विभाजित पनि छन् । स्मृति भनेर प्रसिद्ध भएका ग्रन्थहरूमा मनु, याज्ञवल्क्य, पराशर, नारद आदिका स्मृति ग्रन्थलाई लिन सकिन्छ । वस्तुतः सनातन धर्मावलम्बीहरूको जीवनमा आईपर्ने विभिन्न समस्याहरूको समाधान यिनै स्मृतिग्रन्थहरूमा पाइन्छ । स्मृतिमा प्रतिपादित विषयहरू यदि वेदमूलक छन्भने मात्र ग्राह्य हुन्छ, वेदविरुद्ध अंश छन्भने तिनीहरू त्याज्य नै मानिन्छन्। यी स्मृतिहरू नै धर्म शास्त्रको नामले पनि प्रसिद्ध छन् । विषय प्रतिपादनका दृष्टिले धर्मशास्त्रमा (स्मृतिहरूमा) धर्म, अर्थ, काम, मोक्ष गरेका चारै पुरुषार्थको विवेचना पाइन्छ । यिनीहरूमा वर्णव्यवस्था, अर्थव्यवस्था, वर्णाश्रमव्यवस्था, नित्यकर्म, नैमित्तिक कर्म र काम्यकर्म, प्रायश्चित्त व्यवस्था, शासनविधान, दण्डव्यवस्था तथा मोक्षको साधनको विषयमा समेत ठूलो उहापोह पाइन्छ । याज्ञवल्क्यस्मृतिमा निम्नलिखित स्मृतिकारको नाम उपलब्ध छ र यिनैलाई धर्मशास्त्रको रचयिता पनि भिएको छ– तिनीहरूमा मनु, अत्रि, विष्णु, हारीत, याज्ञवल्क्य, उशना, अङ्गिरा, यम, आपस्तम्ब, संवर्त, कात्यायन, बृहस्पति पराशर, व्यास, शङ्ख, लिखित, दक्ष, गौतम, शातातप, वसिष्ठ, प्रजापति मुख्य पर्दछन्।

इतिहास पुराणाभ्यां वेदं समुपबृंहयेत्। यो उक्ति अनुसार इतिहास र पुराणमा वेदार्थको नै विवेचना गरिएको छ । अत एव इतिहास र पुराणको सूक्ष्म विवेचना नगरीकन वेदार्थ गर्न सकिँदैन । इतिहासमा पुराना घटनाको रूपमा विषयहरूको वर्णन गरिएको हुन्छ । यिनीहरूमा पनि दृष्टान्तको रूपमा घटनाहरू वर्णन गर्दै धर्म, अर्थ काम र मोक्षको नै चर्चा पाइन्छ । विशेषतः रामायण र महाभारतलाई इतिहासग्रन्थ भनेर भनिन्छ । रामायणहरू मध्ये आदिकवि वाल्मीकिको रामायण प्राचीन रामायण हो । वेदव्यासद्वारा प्रणीत १८ पर्वमा विभक्त महाभारत विशालकाय ग्रन्थमात्र नभएर विषयवस्तुको प्रतिपादन पनि ज्यादै उच्च कोटिको छ । धर्म, संस्कृति, दर्शन, नीति, व्यवहार आदिको विश्वकोष भएका कारण पांचौ वेदभनेर पुकारिन्छ । हरिवंशपुराण महाभारतको नै परिशिष्ट भएकोले इतिहास मान्नुपर्छ । यी बाहेक इतिहास भन्नाले अध्यात्म रामायण, योगवासिष्ठ जस्ता ग्रन्थलाई पनि लिइन्छ ।

वस्तुतः पुराणग्रन्थहरू वेदार्थको नै प्रतिपादक ग्रन्थ हुन् । पौरस्त्य जगत्मा पुराण साहित्यको एक विशिष्ट स्थान रहेको छ । वेदबाट भिन्दै हुँदा हुँदै पनि वेदानुकूल शास्त्र नै मानिन्छ । यसमा प्रतिपादित विषयहरूको सन्दर्भमा निम्निलिखित श्लोकलाई लिन सकिन्छः–

सर्गश्च प्रतिसर्गश्च वंशो मन्वन्तराणि

वंश्यानुचरितं चैव पुराणं पञ्चलक्षणम्।।

(कुर्म.पु.१.१.१२)

अर्थात्प्राधान्येन सृष्टि, प्रलय, वंश, मन्वन्तर र उक्त वंशमा जन्मेका प्रमुख व्यक्तिहरूको चरित्र यी पाँच कुराको वर्णन भएको ग्रन्थलाई पुराण भनिन्छ । पुरा नवं भवतीति पुराणम् अर्थात् जति पुरानो भयो त्यति नै नवीनता लाग्ने भएको हुनाले पुराण भनिएको हो । वस्तुतः समयसापेक्ष कुराहरूको वर्णन भएको हुनाले र धर्म, अर्थ, काम, मोक्ष चारै पुरुषार्थको निरूपण विभिन्न प्राचीन उदाहरणहरूद्वारा पुष्ट गरिएकोले पुराण नाम ज्यादै सार्थक छ । पुराणमा प्रतिपादित विभिन्न प्रतिकात्मक कथाहरूले वेदका विषयलाई प्रष्ट पार्ने प्रयास गरेको हुन्छ । यी पुराणहरूको संख्या मुख्यतया १८ रहेको छ ।

मद्वयं भद्वयं चैव ब्रत्रयं वचतुष्टयम्।

अ–ना–प–कू–स्क–लिङ्गानि पुराणानि प्रचक्षते ।।

अर्थात् मद्वयम्=मत्स्यपुराण÷मार्कण्डेपुराण ।

भद्वयम्=श्रीमद्भागवत्महापुराण÷भविष्यपुराण ।

ब्रत्रयम्=ब्रह्मपुराण, ब्रह्मवैवर्तपुराण, ब्रह्माण्डपुराण ।

वचतुष्टयम= वामनपुराण, विष्णुपुराण, वायुपुराण, वराहपुराण ।

अ–ना–प= अग्नि– पुराण, नारदपुराण, पद्मपुराण ।

कू–स्क–लिङ्गानि= कूर्मपुराण, स्कन्दपुराण, लिङ्गपुराण ।

यसरी पुराणहरूको संख्या विभाजन गरिएको छ ।

दृश्यते यथार्थतया वस्तु पदार्थज्ञानमिति दर्शनम् अर्थात् जसद्वारा यथार्थरूपमा पदार्थको साक्षात्कार हुन्छ त्यो नै दर्शन हो । हामी को हौ ? कहाँबाट आयौँ ? यो दृश्यमान जगत्को साँचो रूप के हो ? यसको उत्पत्ति कहाँबाट भयो ? यो सृष्टिको कारण के हो ? यो चेतन छ कि अचेतन छ ? यो संसारमा हाम्रा लागि गर्न योग्य र अयोग्य कर्महरू के–के हुन्? जीवनलाई सरलसँग व्यतीत गर्न कुन साधन उपयुक्त हुन्छ ? जस्ता विविध प्रश्नहरूको सही उत्तर दिई मार्ग प्रशस्त गर्नु दर्शनको मुख्य उद्देश्य हो । प्राच्य जगत्मा मुख्यतया ६ दर्शनको महत्वपूर्ण स्थान रहेको छ । यी दर्शनहरूमा वैशेषिकदर्शन, सांख्यदर्शन, योगदर्शन, न्यायदर्शन, पूर्वमीमांसादर्शन र उत्तरमीमांसादर्शन पर्दछन् । यीनमा पनि आचार्यहरूका कारण आ– आफ्ना धेरै भेदहरू छन्। यसरी हाम्रो प्राच्य जगत्मा पैmलिएर रहेको ज्ञानको आदिस्रोत भएको वैदिक ज्ञानधाराले संसारलाई नै आप्लावित बनाएको छ । वास्तवमा यो ज्ञानधारालाई बुभ्mन नसक्दा आज हामी आफैँलाई विर्सन पुगेका छौँ । पौरस्त्य परम्परामा आधारित गुरुकुल आश्रमहरूले नै यो परम्पराको संरक्षण गर्नुपर्ने बेला आएको छ ।