षोडश संस्कार

 

वैदिक ऋषिमुनीहरुद्वारा प्राप्त संस्कार मानव जीवनका लागि अलङ्कार हो । संस्काारले हाम्रो शरीर, मन, बुद्धि, चित्तमा रहेका विकारलाई हटाउँछ र पवित्र पारीदिन्छ । चित्रलाई विभिन्न रङ्गले सुसज्जित गरी चम्काए जस्तै वैदिक विधिद्वारा पवित्रीकरण संस्कारका आधारमा हाम्रो जीवनमा देवत्व चम्किन थाल्दछ । संस्कारले यस लोकमा सुकीर्ति र परलोकमा सद्गती प्राप्त हुन्छ । मानिसमा दुई किसिमको स्वभाव हुन्छ, दैवी र आसुरी । दैवी संस्कार सम्पन्न शीलस्वभावले समाजको कल्याण गर्दछ भने आसुरी स्वभाव समाजका लागि घातक मानिन्छ । हाम्रा शास्त्रले बताएको छ ।

यदा हि धर्मस्य ग्यानिर्भवति भारत I

अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।

जब जब भगवान्अवतार लिनुहुन्छ, तब तब पृथ्वीमा ऐजेरु देखा परेका आसुरी वृत्ति अधर्मको नाश भई सत्धर्मको विकास हुन्छ, सद्धकर्मको विकासका लागि नै संस्कारको आवश्यकता परेको हो । अब हेरौं षोडस संस्कार बारे विद्वानहरुको धारणा के कस्तो रहेको छ । विद्वानहरुका धारणा संस्कारका बारेमा विविध छन । कसैका सिद्धान्तमा ४८, कसैका मतमा ४०, कसैका मतमा ४०, कसैका मतमा २५, कसैका मतमा १६, कसैका मतमा १३ पाइन्छ । व्यवहारमा प्रचलित १० संस्कार मात्र देखिन्छन । विद्वानहरुले देखाएका संस्कार सम्बन्धि विवरण यस प्रकार छन ।

. गर्भाधान            २. पुंसवन                        ३. सीमन्तोनयन     ४. जातकर्म

५. नामकरण          ६. निष्क्रमण                    ७. अन्नप्रासन         ८. कर्णभेद

९. विद्यारम्भ           १०. चूडाकर्म                    ११. उपनयन          १२. वेदारम्भ

१३. केशान्त           १४. समावर्तन                  १५. विवाह             १६. अन्त्येष्टी ।

प्रमुख १६ संस्कारका बारेमा संक्षेपमा यसरी परिचय दिने प्रयास गरिएको छ ।

 

धार्मिक दृष्टिबाट विवाह भैसकेपछि पूर्णता दिन शास्त्रले गर्भाधानलाई विशेष महत्व दिएका छन् । सम्पूर्ण सृष्टि नै मातृशक्तिमा आधारित छ । २५ बर्ष सम्मको ब्रह्मचार्यश्रम पछाडी सुश्रुतको कथन अनुसार पञ्चपवंशे ततो बर्षै पुमान्नारी तु षोडशे । समत्वागतवप्र्यौ तौ जानीयात्कुशलो भिषक्।। भनिएकाले स्त्री र पुरुषको थोरै पनि ९ बर्षको फरक हुनुपर्दछ । मनुका पतमा आंसी, पूर्णीमा, अष्टमी, चतुर्दशी, पर्वदिन र श्राद्ध एवम् देवकार्यलाई छाडेर नारीका ऋतुकालका एघारौं र तेहै्र रात बाहेक छोराका लागि जोडी दिन जस्तै १४,१६ र छोरीका लागि १५,१७ मा गर्भाधान संस्कार हुनुपर्दछ । गर्भाधान हुनुभन्दा पहिले देवपूजनादिको अनुष्ठान समेत आवश्यकता बताएका छन्।

 

तत् पुंसवनम् शौनकले वीर वीरमित्रोदयको संस्कार प्रकाशनमा बताएका छन ।

गर्भो लभ्यते येन कर्मणा निषिक्त वीर्यममोघं भवति तद् गर्भलम्भनम्,

पुमान्लब्धो जायते येन ततु पुंसवनम्

अर्थात गर्भाधान भएको दोस्रो वा तेस्रो महिनामा जब गर्भरहेको सङ्केतहरु स्त्रीजातीमा देखिन थाल्छन अथवा पेट भित्र केही स्पन्दन गरेको थाहा हुन्छ तब यो संस्कार गरिन्छ । व्याकरण नियम अनुसार पा (रक्षणे) र पूञ (पवने) धातुबाट उणादिमा डुमुसुन्प्रत्यय हुदा पुम्स्बन्दछ र जोडिदा पुंसवन शब्द बन्दछ । यस शब्दको अर्थ हुन्छ– गर्भमा रहेको जीवन (नर वा नारी) पालन र रक्षा गर्ने शक्ति सम्पन्न दिव्य उज्वल निरोगी व्यक्तित्व भएको होस् भनेर । ब्रह्मा, विष्णु, महेश्वर आदि पञ्चपरमेश्वरको प्रार्थना गर्दै तदनुकूल वर गुर्जो, कलिलो हरियो कुश पिसेर राम्रो झोल पानी बनाएर छानेर दाहिने नाकको प्वालबाट श्वास लिने अथवा २, ४ थोपा सिञ्चन गर्ने, मिठो मिठो पौष्टिक खाना खाने गर्नुपर्दछ । वेदका – ॐविवस्वन्नादित्यैषते, ॐहिरण्यगर्भः ……, ॐ अद्भ्यःसम्भृतः… ।। यी मन्त्र त्यस अवस्थामा पढ्नुपर्दछ । गर्भस्थ शिशुका आफ्नी पत्नीको काखमा राखेर अर्भाशयलाई छुर्द––ॐ सुपर्णो सी.. ।। यो मन्त्र पढ्ने काम गर्नु उचित हुन्छ ।

यो संस्कार गर्भ रहेको चौथो छैठौ आठौ महिनामा गरिन्छ । गर्भिणी स्त्रीको मन सन्तुष्ट पार्न आरोग्यको कामना गर्दै गर्भस्थ शिशुको स्थिरताका लागि यो संस्कार गरिने व्यवस्था भएको हो । पतिले पत्नीको सन्तुष्टिका लागि टाउको छोएर कपाल मुसारी दिन्छन । कुलीन वृद्धा नारीहरु भेला भएर यस अवसरमा आर्शिवाद दिन्छन । यस संस्कारका क्रममा वैदिक विधान अनुसार अग्निमा आहुती दिएर खिचडी खाने चलन पनि छ । आश्वालायन गुह्यसूत्रमा चतर्थे गर्भमासे सीमान्तोनयनम्पनि भनेको छ । यो संस्कार हिजो आज व्यवहारमा त्यति देखिदैन र पनि अमङ्गलकारी अदृश्य शक्तिबाट रक्षा गर्नका लागि यो संस्कार अति आवश्यक मानिन्छ ।

यो संस्कार बालकको जन्म भएपछि नाल नकाटिकन गर्नुपर्दछ । अग्निस्थापना विधिबाट अग्निपूजा पिताले गरेपछि बालक जन्मने क्रममा प्रसव वेदनाबाट छटपटिएकी स्त्रीका सामुन्ने पतिले ॐ एजतु दशमास्यो गर्भो जरायुणा सह…….. । यो पूरा मन्त्र पढिकन प्रसुतिवायुले यस बालकलाई पेटबाट बाहिर निकालिदियोस्भनी कामना गर्ने । पारस्कर गृह्यसूत्र पृष्ट १८० मा उल्लेख गरे अनुसार

जातस्य कुमारस्य अच्छिन्नया नाड्यां मेधा जनना आयुष्ये करोति ।। 

अर्थात यस बालकको बुद्धि विकास होस्, सय बर्षको आयू होस् भनी यो संस्कार गरिन्छ । पूजा गरिएको मण्डपको वरिपरि एवं बिच भागमा पाँच जना ब्राह्मणलाई वरण गरेर पूर्व पश्चिम, उत्तर, दक्षिण एवम्बीच भागमा प्राण, अपान, उदान, समान, व्यान, पञ्च प्राणको पूजा गर्नुपर्दछ । यो सम्भव नभए पिता स्वयंले तत्तत प्राणको कल्पना गरी पूजा गर्नुपर्दछ । पृथ्वी माताको पूजा गरी पश्येम शरदः शिशुको सय बर्षको आयुको कामना गर्दै घीऊ मह मिसाएर नवजात शिशुको जिब्रामा ॐकार लेखी चटाउने काम गर्नुपर्दछ । त्यस अवस्थामा पिताले अश्मा भव, परशुर्भव हिरण्यमश्रुत भव अर्थात बालक तिमी पत्थर समान दुढ होऊ, बञ्चरो समान शत्रुविनाशक वन, आगामा खारिएको सुन जस्तै पवित्र वन भनी आशिर्वाद दिने काम गर्नुपर्छ । यसरी जातकर्म संस्कार पूर्ण गर्ने क्रममा कैली गाई दान ब्राह्मण दक्षिणा आदि गरेमा पूर्णता सिद्ध हुन्छ । निर्णयसिन्धुका आधारमा यो संस्कार गरेपछि स्नान गरेर पितृश्राद्ध गर्नुपर्दछ । जन्म दिनको अर्चना प्रसङ्गमा सैतक लाग्दैन ।

नामाकरण संस्कार बालक जन्मेको दशौं रातपछि एघारौं, बाह्रौ दिनमा गर्नुपर्दछ भन्ने मनुको मत छ । नामधेयं दशम्यां तु द्वादश्यां वास्य कारयेत् । पुण्यतिथौ मुहूर्ते वा नक्षत्रे वा गुणान्विते । कुनै ग्रन्थमा दशम्यामुत्थाय पिता नामाकरणं करोति अर्थात दशौं दिन बिहानै उठेर नामाकरण गर्नुपर्दछ । नाम व्यक्तिको पहिचान हो । यही प्रसङ्गमा रात्र्यामतीतायाम् प्रसुतिकागृहात् उत्थाय त्रीन् ब्रह्मणान् भोजयित्वा कुमारस्योद्धरर्थ पिता नामकरणं करोति । बालकको नाम राख्दा दुई वा चार अक्षरको हुनुपर्छ । बालिकाको नाम राख्दा तीन, पाँच, सात अक्षरको हुनुपर्दछ । शास्त्रीय मत छ । याज्ञवल्क्यको मतमा अहन्येकादशे नाम भनिएकाले हाम्रो कुलपरम्परामा बालक जन्मिएको दश रात्री वितेपछि अग्निस्थापना विधिबाट देवदेवी पूजन, हवन गरी पीपल वा केराको पातमा बालक जन्मिएको बर्ष, महिना, तिथि, नक्षत्र, पाउ र राशी नाम लेखी बालकका कानमा शङ्ख, घण्टको ध्वनीका साथमा नाम सुनाउने प्रचलन छ ।

बालक जन्मिएको चौथो महिनामा बालकलाई सूर्यदर्शनका लागि आमाको काखमा राखेर घरबाहिर निकालेपछि सङ्कल्प गरिकन पिताले ॐ तच्चक्षुर्देवहिंत पुरस्तात् । यो मन्त्र पढेर बालकलाई सूर्यदर्शन गराउनु पर्दछ । त्यसपछि गुरुजन मान्यजनहरुबाट त्वं जीव शरदः शतम्भनी आशिर्वाद समेत दिने विधान छ । आजभोली नामकरणको नजिकै होमादि कार्य गर्न सम्भव नमिल्ने हुँदा नामकरणकै दिन स्थापना गरिएको अग्निदेवताका सामुन्ने सूर्यदर्शन गराउने चलन छ ।

जन्मिएको दिनदेखि सौरमानका आधारमा षष्ठे मासेन्न प्राशनम् अर्थात छैठौ महिनामा अन्नप्राशन संस्कार गर्नुपर्छ । नारदको मतमा त्यस महिनामा सम्भव नभए तदभावे ष्टमे मासे नवमे दशमेपि वा । द्वादशेवापि वुर्वीत प्रथमान्ननशनं परम्। सम्बत्सरे वा सम्पूर्णे केचिदिच्छन्ति पण्डिताः ।। पनि भनिएको छ । बालकको भर्सक ज्योतिष शास्त्रको सिद्धान्तका आधारमा जोड षष्टे वाप्यष्टे मासे पुंसा स्त्रीणां तु मञ्मे सप्तमे मासे वा कार्य नवान्नप्राशनं परम्अर्थात पुरुष बालकको छ वा आठ महिनामा र बालिकाको पाँच वा सातौं महिनामा अन्नप्राशन गराउनुपर्दछ । अन्नप्राशन गराउनु भन्दा पहिले निम्न लिखित चार मन्त्रले अग्निमा हवन गर्नुपर्दछ । १. प्राणेनान्नमसीय स्वाहा । २. अपानेन गन्धानशीय स्वाहा । ३. चक्षुषा रुपान्नशीय स्वाहा । ४. श्रोत्रेण यशो शीय स्वाहा । त्यसपछि बालक बालिकालाई षडरस र भक्ष भोज्यादी अन्न चटाउनुपर्दछ र दधि, मधु, घृत मिश्रीत अन्न खुवाउनुपर्दछ ।

जन्मदेखि गणना गर्दै जाँदा प्रथमबर्ष अथवा तृतीय बर्षमा छेवर (चुडाकर्म) गर्नुपर्दछ । अघिल्ला दिन बेलुका पहेला कपडामा ब्रह्मा, विष्णु, महेश्वरको पूजा गरी गाँठो पारी दाहिने, देब्रे र पछाडी पटि कपाल काट्ने ठाउँमा बाँध्नु पर्दछ । छेवर कर्म जुरेका दिन अग्निस्थापना गरी आहुती दिएर चीसो पानीमा तातो पानी मिलाएर नौनी घीउ मिश्रण समेत गरी केशलाई भिजाउनु पर्दछ । दंसीको काँडाद्वारा विभाजन गरिएको कपाललाई काँशका थालमाथि गोबरको डल्लामा काटिएको कपाल पहेलो वस्त्रले छोपेर राख्नुपर्दछ । काटिएको कपाल त्यस बालकले हेर्नु हुदैन । त्यसपछि आ–आफ्नो कुल परम्परा अनुसार चेलीबेटीद्वारा नदेख्ने ठाउँमा सेलाउनु पर्दछ । तोरी भुटेर बेसार तेल मिसेर बनाएको बुकुवा घसेर बालकलाई स्नान गराउने चलन छ ।

यो संस्कार बालकको कान, बालिकाको नाक र कान छेड्ने विधान भित्र पर्दछ । विभिन्न शास्त्रज्ञ व्यक्तिहरुको महिना, बर्ष, तिथि र बारका बारेमा निर्ण सिन्धुमा विभिन्न मत छन । वशिष्ठ र श्रीधरको मतमा मासे षष्ठे सप्तमे, चाष्टमे वा । मदन रत्नमा प्रथमे सप्तमे मासे चाष्टमे दशमे पि वा । कर्णवेध प्रशंसन्ति शुक्लपक्षे शुभे दिने ।। भनिएको छ । मदनरत्न ग्रन्थमा वृहस्पतिको मत –द्वितीया दशमी षष्ठी सप्तमी च त्रयोदशी । द्वादशी पञ्चमी शस्ता तृतीया कर्णवेधने ।। बारको प्रसङ्गमा शशिगुरुकाव्यानां दिने पर्वरिक्तारहिततिथिषु शुद्धे कर्णवेधः भनिएको हुदा उक्त विषयलाई ध्यान दिएर नाककान छेड्नु पर्दछ ।

सफल जीवन बनाउन जीवन उपयोगी अर्थार्जनका लागि (सदाचारको माध्यमद्वारा उच्च आदर्शपूर्ण नम्रता, शिष्टा, कला शीपका विषयमा कार्यदक्षता, शुद्ध ज्ञान विज्ञान, सुनिति न्याय, दर्शन, प्रभावकारी प्रवचन, प्रभावशाली विश्लेषण कलाशीप साथ अभ्यासलाई सफल बनाउन भगवद्आराधनाका साथ अक्षराम्भ गरिने कार्यक्रमलाई ५ बर्षमा विद्यारम्भ संस्कार गर्ने शास्त्रीय चलन छ ।

यस शब्दको अर्थ हो उप समीपे नयनम् उपनयनम् । अर्थात् बालकलाई यो संस्कार गर्न गुरुको समीपमा लैजानु हो र यज्ञोपवीत धारण गराउनु हो । शास्त्रमा उपनयन संस्कारको बारेमा विद्वानहरुका विभिन्न मतमतान्तर छन्। १. आश्वालयनको मतमा गर्भाष्टमेष्टमेवब्दे पञ्चमे सप्तमे पि वा । द्विजत्वं प्राप्नुयाल्विप्रः ।। २. मनुको धारणा अनुसार ब्रह्मवर्चसः कामस्य कार्य विप्रस्य पञ्चमे । ३. अर्को मतमा निर्णय सिन्धुमा भनिए अनुसार – षष्ठे तु धनकामस्य विद्याकामस्य सप्तमे । अष्टमे सर्वकामस्य नवमेकान्तिमिच्छतः ।। यी विभिन्न मत मतान्तर देखिए पनि ब्राह्मणको ८ बर्षमा, क्षत्रीयको ११ बर्षमा, वैष्यको १३ बर्षमा उपनयन संस्कार गर्नुपर्दछ । यो संस्कार २४ बर्षसम्ममा नगरेमा मनुका मतमा ब्रात्य हुन्छ । भनिएको छ । यो उपनयन संस्कार माघ, फाल्गुण, चैत्र, वैशाख, ज्येष्ठ, आषाढ यी उत्तरायणका शुभदिनमा अधिकांश मतमा शुभ बताइएको छ ।

वेदारम्भ संस्कार हिन्दू धर्म अन्तर्गत सोह्र संस्कार भित्र पर्ने यो एक महत्त्वपूर्ण संस्कार हो । वैदिक सनातन वर्णाश्रम धर्मको संस्कृति नै संस्कारहरूमा अडिक छ । प्राचीनकालमा यसको विशेष महत्त्व थियो । जब बालकलाई उपनयन संस्कार गरिसके पछि उसलाई ज्ञान आर्जनका निम्ति गुरुकुल पठाउने प्रचलन थियो । गुरुकुलमा शिष्यलाई ब्रह्मचर्य ब्रत को पालन गराउने र संयमित रहने प्रतिज्ञा गराइन्थ्यो । शिष्य सम्पूर्ण परिक्षामा सफल भए पछि नै वेदारम्भको लागि योग्य भएको पुष्टि गरिन्थ्यो । आचार्यहरू आफुले उपनयन गराई आफना साथमा रहेका शिष्यहरूलाई हरेक वर्ष श्रवण नक्षत्रयुक्त वा अयुक्त श्रावणीपूर्णिमा, हस्तनक्षत्रयुक्त वा अयुक्त पञ्चमी तिथिमा अध्यायोपाकर्म सम्पन्न गरी वेद पढाउँथे, त्यस दिनदेखि करिव साँढे पाँच महिनासम्म स्वाध्यायाध्ययन कार्य चल्दथ्यो त्यस पछि पौष महिनामा वेदोत्सर्ग कर्म गरी आचार्य गुरूहरू वैदिक यज्ञ–यागादि अनुष्टानतर्फ संलग्न गराउनु नै यसको महत्व हो । विशेषतः ज्ञन प्राप्त गराउनको लागी यो संस्कार महत्त्वपूर्ण रहेको छ ।

विद्यया लुप्यते पापं विद्ययायु प्रबर्धते ।

विद्यया सर्वसिद्धिस्यात् विद्यया मृतमश्नुते ।।                                          

ज्योतिर्निबन्ध अर्थात विद्या अध्ययनबाट सारा पाप नाश हुन्छन् । आयु बृद्धि हुन्छ र सम्पूण सिद्धिहरु प्राप्त हुन्छन् । विद्याले अमृत रस पान गर्न सकिन्छ ।

प्रथम पटक वेदारम्भ पछाडी दारी कपाल काट्नुलाई केशान्त संस्कार भनिन्छ । सुमुखं केशान्ते अर्थात राम्रो केश हुनका लागि गरिने संस्कार हो । आचार्यहरुले यो संस्कार गर्नुभन्दा पहिले गोदान गर्न आवश्यक छ भनेको हुदा यसलाई गोदान संस्कार पनि भन्ने चलन छ । यो संस्कार गरेपछि १ बर्षसम्म ब्रह्मचर्यमा रहने प्रसङ्ग ऋषिमुनीहरुले बताएका छन्।

केशान्तषोडशे बर्षे ब्राह्मणस्य विधीयते ।

राजन्यबन्धा द्र्वाविंशे वैश्यस्य द्वयधिके ततः ।।

अर्थात ब्राह्मणका लागि १६ बर्ष, क्षत्रीयका लागि २२ बर्ष र वैश्यका लागि २४ बर्ष निर्धारण गरेका छन्।

यो संस्कार विद्या अध्ययन गरिसके पछि गुरुकै आश्रममा अग्नि स्थापना विधिबाट अग्नि चारवेद र देवीदेवता पूजा र हवन गरिसके पछि , शिक्षा पूर्ण गरे उप्रान्त गरिने कर्म हो । आजभोली विश्वविद्यालयहरुमा गरिने दीक्षान्त समारोह यस संस्कारको प्रतिक हो । यो संस्कार गरिसके पछि मात्र विद्यनिष्णात स्नातकोपाधिहरु गृहस्थाश्रममा प्रवेश गर्न आधिकारीक बन्दछन ।

चार आश्रममध्ये विवाह संस्कारलाई दोस्रो मानिन्छ । मानिसले जन्मदै तीन ऋण लिएर आएको हुन्छ । १. देवऋण २. ऋषि ऋण ३. पितृऋण । देवाराधनाबाट यज्ञयज्ञादिबाट देवऋण, वेदाध्यन स्वध्ययन आदिबाट ऋषि ऋण र विवाह गरेपश्चात् सन्तानोत्पत्तिबाट पितृऋण तिरिन्छ । विवाह ८ प्रकारका हुन्छन भनेर धर्मशास्त्रले निर्देश गरेको छ । १. ब्राह्म २. दैव ३. आर्षः ४. प्राजापत्य ५. आसुरः ६. गान्धर्व ७. राक्षस ८. पैशाचः १. वाक्यताका आधारमा वरवधुलाई आभूषण आदिले सुशोभित गराई कन्यादान, परस्पर समीक्षण, जयामोमादि गरी शिलारोहण, सिन्दुरदान आदि गरी गरिने विवाह नै ब्राह्म विवाह हो । २. दैव ज्योतिष्टोमादि यज्ञमा कर्म, कर्ता, ऋत्विकलाई अलङ्कारादिद्वारा विभूषित गरी कन्यादान दिनु दैव विवाह हो । ३. आर्ष – यज्ञादि धर्मकार्यका लागि एक जोडी गाई गोरु लिएर ऋत्विकलाई कन्यादान दिने विवाह आर्ष विवाह हो । ४. प्राजापत्य – वरवधु दुवैलाई तिमीहरु परस्पर मिलेर गृहस्थ धर्मको पालना गर भनी शास्त्रीय विधिले वरलाई कन्या सन्तानका लागि दिनुलाई प्राजापत्य विवाह भनिन्छ । ५. आसुर विवाह– कन्यापक्षका मानिसहरुलाई धनसम्पत्ति दिएर अर्थात किनेर विवाह गर्नुलाई आसुर विवाह भनिन्छ । ६. गन्धर्व विवाह केटाकेटीको पारस्परिक प्रेम एवम्केही सर्तमा गरिने विवाहलाई गान्धर्व विवाह भनिन्छ । ७. राक्षस विवाह ः कन्यालाई जबरजस्ती अर्थात बलपूर्वक हरण गरी गरिने विवाहलाई राक्षस विवाह भनिन्छ । ८. पैशाच विवाह ः निदाएकी मद्यमानले लाटिएकी कन्यालाई जबरजस्ती एकान्तमा करणी गरी गरिने विवाहलाई पैशाच विवाह भनिन्छ ।

जीवात्माले चौविस मायाका तत्व अश्रय बनाई निर्माण गरेर आदि मानव जुनी बनाउँछ, पूर्वजन्ममा गरेको कर्म भाग्य बन्दछ । भाग्य भोग्न चौरासी जुनीमा घुम्दछ । चौरासी जुनीमध्ये मानव जुनी सर्वोत्तम जुनी हो । राम्रा कर्म गरे स्वर्गादी पुण्य मिल्छ । नराम्रा कर्म गरे यातना दुःख कष्ट भोग्ने नरक लोक प्राप्त हुन्छ । भाग्य कर्मानुसार पिशाच हुने अवस्थामा हुन्छ र पिशाच भएर दुःख दिएका घटनामा मानिसमा जागृतति भएको देखेर सुनेर प्रष्ट अनुभव भएको छ । वैदिक मर्यादामा रहने हिन्दु समाज हो । हिन्दु समाजमा अन्त्येष्टि गर्ने यो अन्त्येष्टि संस्कार धर्मशास्त्रद्वारा प्रमाण सिद्ध भएको छ । मानिसको पार्थिव शरिरबाट प्राणेत्सर्ग भए उप्रान्त प्रथम दिनदेखि बाह्रौं दिनसम्म शास्त्रीय पद्दति अनुसार दशगात्र विधि (मलिन) मध्यम, उत्तम, षोडशी सपिण्डनादि यसैभित्र पर्दछन् । यस भन्दा पहिले उल्लेख गरिएका १५ संस्कार संसारमा आगमनको कारणदेखि जीवनलाई पवित्रकृत पार्नुका साथै सुखसमृद्धिका लागि प्राप्त होस्, आफूस्वयंलाई पनि पितृऋणबाट मुक्तिदिन गृहस्थाश्रमको नियम अनुसार संसारमा पितामाता कै माध्यमबाट उत्पन्न गरेको हुँदा कर्तव्यबाट विचलित नभई अश्रुपात नगरी यो कार्य सम्पादन गरुन्भनी शास्त्रहरुले निर्देश गरेका छन्। आजभोली संस्कार सम्बन्धमा शिथिलता आउन थालेको छ । त्यसो हुँदा विज्ञहरुले निर्णय सिन्धु, धर्मसिन्धु, पारस्करगुह्यसुत्र, स्मृतिग्रन्थ आदि हेरी संस्कार सम्बन्धि कार्यलाई विचलन हुन दिनुहुदैन । संस्कारबाट नै सच्चरित्रको निर्माण हुन्छ । त्यही चरित्रले नै मानिसलाई असल बनाउछ । त्यसैको अनुसरण गरेपछि मात्र मानव जीवन उच्चकोटीमा पर्दछ । अलम्।